इजरायल, २० वैशाख । इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ ।
इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको मंगलबार निधन भएको इजरायलको जेल सेवाले जनाएको छ ।
उनलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।
नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
पक्राउ परेपछि उनले अनशन थालेका थिए । जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।