
इजरायल, २२ साउन । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । घटनामा दुई सयभन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । शुक्रवार इजरायलले प्यालेस्टाइनी इस्लामिक सङ्गठन (पीआईजे) विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । हिजो दोस्रो दिन पनि आक्रमणका घटना भएका छन् । हवाई आक्रमणमा पीआईजेका नेता तैसिर जबारीको ज्यान गएको इजरायलले दाबी गरेको छ ।
आक्रमणका कारण गाजापट्टीमा उपचार सेवा पनि प्रभावित भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल-किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालमा बहिरङ्ग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको जानकारी दिएका बीबीसीले जनाएको छ ।







