इजरायल, १४ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले अहिले युद्धको समय रहेको बताएका छन् । उनले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताए ।
प्रधानमन्त्री नेतान्याहुले हमासविरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म आठ हजार तीन सय ६ जनाको ज्यान गइसकेको छ ।
गाजामा ज्यान गुमाउनेमध्ये तीन हजार तीन सय २४ जना बालबालिका रहेका छन् । इजरायलतर्फ एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।







