रौतहट, १४ मङ्सिर । छोरीले प्रेम बिवाह गरे समाजमा इज्जत जाने भन्दै आफ्नै छोरीको हत्यामा संलग्न रहेका बाबुआमासहित सातजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ ।
प्रहरीले बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही गोनाही नगरपालिका–२ करुनिया लक्षमिनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साहलाई हत्यमा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले हत्यामा बाबुआमासहित सात जनाको संलग्नता देखिएको बताए । आरोपी सबैले घटना स्वीकार गरिसकेकाले उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
हत्याको कारणः छोरीको प्रेम
प्रहरीका अनुसार बाबु रामअयोध्याकी छोरी अमृताको छिमेकी सोसिन्द्र भगतसँग पछिलो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनको प्रेमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ साल असारमा सर्लाही विशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गरेका थिए ।
अमृता केही महिना सर्लाही विशुनपुरमा रहेपछि उनका श्रीमान् रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा श्रीमान् पक्षले अमृता र उनका प्रेमी सोसिन्द्रमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।
हत्याको योजना
उक्त घटनापछि अमृता माइतीघर लौकाहामै बस्दै आएकी थिइन् र गत असारमा श्रीमान्सँग सम्बन्ध विच्छेद भएको थियो । माइती बसेकी छोरी अमृता प्रेमी सोसिन्द्रसँग भागेमा समाजमा हाम्रो इज्जत जान्छ भन्ने सोँचले उनका बाबुआमाले छोरीको हत्या योजना बनाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
अमृतालाई कुनै बहानामा भारतमा लगेर हत्या गर्ने योजना बाबुआमाले बनाए । भारत परोहाका छोटेलाल साहलाई रु एक लाख ५० हजार दिएर हत्या गराउने बुबा रामअयोध्या र अर्का ज्वाइँ देवाही गोनाही–२ करुनियाका लक्ष्मण साहले मिलेर योजना बनाएका थिए ।
योजनाअनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिनाअघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माइतीमै आएर बसिरहेकी थिइन् ।
बुबा रामअयोध्या र ज्वाइँ लक्षुमणले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्षमिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न रु एक लाखको सुपारी दिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कात्तिक २६ गते राति आमासँग आफ्नो घरमै सुतिरहेका बेला हत्या गरेको बताइएको छ ।
आमा उठेर शौचालय जाँदा राति साढे ११ः०० बजे अमृताको कञ्चटमा गोली हानी हत्या गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । घटनापछि मृतकका श्रीमान्, प्रेमी र परिवारका सदस्यको अनुसन्धान गर्दै जाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको प्रहरी उपरीक्षक शाहले बताए ।
अन्य छ जना आरोपी यसअघि नै पक्राउ परे पनि मुख्य योजनाकार कैमुल भने सर्लाही मलङ्गवामा लुकीछिपी बसेको अवस्थामा आजै पक्राउ परेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।