सुनसरी, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका-२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार बा १ ञ १६५१ नम्बरको भ्यान गएराति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा भ्यान चालक धरान उपमहानगरपालिका–१३ का ३२ वर्षीय बिर्खबहादुर राई र धरान-१६ का ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस्तै, भ्यानमा सवार धरान उपमहानगरपालिका-२० का ३२ वर्षीय पवन राई घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।






