Logo

इनारमा खसेकी महिलाको उद्धार



काठमाडौँ, १ माघ । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ ।

सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्ण मन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए ।

दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन् । कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन् । त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेकी हुन् ।

प्रधान इनारमा खसेको भन्ने खबर प्रहरीलाई पौने १० बजे भएको थियो । त्यसलगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो ।

यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकलसहित पुगेको थियो । प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली पनि घटनास्थलमा पुगेका थिए । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्