काठमाण्डौ, २ फागुन । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।
सुरक्षित इन्टरनेट दिवसका अवसरमा हिजो काठमाण्डौमा भएको कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै हरेक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा ६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए । जसमा दुई सय ५३ बालक थिए भने तीन सय ८२ बालिका थिए । त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार सात सय ४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्याङ्क छ ।
नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले पाँच सय १४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालासँग गरेको अध्ययनअनुसार १३ वर्षदेखि १८ वर्ष उमेर समूहका (५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक) मध्ये ९७ प्रतिशत इन्टरनेटको पहुँचमा छन् ।