अमेरिका, ३ भाद्र । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ ।
आज सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । यता मायमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको थियो ।
त्यसपछि पनि अन्य सबै खेलाडीले लगातार गोल गरेपछि ११ औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मायमीका क्यालेन्डरले गोल गर्दा पानिचोको प्रहार विपक्षी गोलरक्षकले बचाएका हुन् ।
त्यसअघि खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काएका थिए ।