इन्डोनेशिया, १७ मंसिर । विवाह इतर यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गर्ने तयारी गरेको छ ।
कानुनको मस्यौदा तयारीमा सहभागी राजनीतिज्ञ बामबाङ वयुरान्तोले अर्को हप्तासम्ममै नयाँ कानुन पारित भइसक्ने बताए ।
प्रस्तावित कानुन पारित भए यस्तो प्रावधान इन्डोनेशियाली नागरिक मात्र नभएर त्यहाँ बस्ने विदेशीहरूका हकमा पनि लागु हुन्छ ।
तर व्यभिचारमा कारबाही हुनका लागि यसको पक्षले प्रशासनमा उजुरी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।विवाहित व्यक्तिको हकमा पीडित पक्षको श्रीमान् वा श्रीमतीले उजुरी दिन सक्छन् ।
यस्तो कानुनले विवाह नगरेका व्यक्तिहरूले यौन सम्बन्ध राखेको उजुरी उनीहरूका आमाबुवाले दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रस्तावित कानुनले विवाहअघि हुने सहवासमा प्रतिबन्ध लगाउँदै यस्तो कसुरमा छ महिनाको जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
व्यवसायिक घरानाहरूले यस्तो कानुनका कारण देशको बिदा मनाउन र वैदेशिक लगानीका लागि राम्रो गन्तव्यका रूपमा रहेको देशको छविमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ ।
इन्डोनेशियाको रोजगारदाताहरूको संस्थाकी उपाध्यक्ष शिन्ता विजाया सुकम्दानी भन्छिन्, “व्यवसायी क्षेत्रका लागि यस्तो परम्परावादी कानुनको कार्यान्वयनले कानुनी अनिश्चय पैदा गर्नुका साथै लगानीकर्ताहरूले इन्डोनेशियामा लगानी गर्नेबारे नै पुनर्विचार गर्न सक्छन् ।”
यस्तै कानुनको मस्यौदा पारित गर्ने प्रयास भएपछि त्यसको विरोधमा सन् २०१९ मा दशौँ हजार मानिसहरूले प्रदर्शन गरेका थिए।







