इन्डोनेसिया, २२ कार्तिक । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।
युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरेको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११:५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।
इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।
“भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ”, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भने, “विशेष गरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।”







