झापा, २५ माघ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ का दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा भारतको ग्लोबल स्टार लखनउ विजयी हुँदा दोस्रो खेलमा नेपालको फ्रेण्ड्स युथ क्लब डडेल्धुराले प्रभावशाली जित दर्ता गरेको छ।
पहिलो खेलमा लखनउले गण्डकी हिरोज पोखरालाई ५५ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। उसका लागि अनुभव सिंहले ५५ बलमा ६६ रनको अर्धशतकीय पारी खेले।
१४४ रनको लक्ष्य पछ्याएको पोखरा १६.५ ओभरमै अलआउट हुँदै ८८ रनमा सीमित भयो। पोखराका दीपकप्रसाद डुम्रेले सर्वाधिक २४ रन बनाए। बलिङतर्फ लखनउका शिवम् अजयले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए र म्यान अफ द म्याच घोषित भए। पोखराका सिब्रिन श्रेष्ठले भने ४ ओभरमा ११ रन दिएर २ विकेट हात पारे।
दोस्रो खेलमा स्नोलायन सिक्किमलाई ६ विकेटले पराजित गर्दै डडेल्धुराले समूहमा सुखद सुरुवात गर्यो। पहिले ब्याटिङ गरेको सिक्किम १९.२ ओभरमा ७१ रनमै समेटिएको थियो। उसका लागि रुसभ राथोड र सौरभ कुमारले समान १९ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।
७२ रनको लक्ष्य डडेल्धुराले १२.३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै अभिषेक गौतमले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। उनी खेलको म्यान अफ द म्याच बने।







