इराक, २८ असोज । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् ।
संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो ।
देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्ने छन् ।
मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो ।







