इरान, २९ मङ्सिर । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान-बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।
“रास्क शहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतङ्कवादी जिहादी समूह’ ले गरेको आक्रमणमा ११ जना प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप-प्रशासक अलिरेजा मरहमतीले भने ।
सुरक्षा फौजसँग भएको गोली हानाहानमा कैयौँ आक्रमणकारीको पनि मृत्यु भएको टेलिभिजन च्यानलले जनाएको छ । अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सीमा नजिकको क्षेत्रमा मध्यरातमा भएको यो आक्रमण केही वर्षयताकै सबैभन्दा घातक आक्रमण हो ।
यसको जिम्मेवारी सुन्नी जिहादी जैश अल अदल (आर्मी अफ जस्टिस) समूहले लिएको टिभी रिपोर्टमा उल्लेख छ । सन् २०१२ मा गठन भएको जैश अल अदललाई इरानले ‘आतंकवादी’ समूहको रूपमा कालोसूचीमा राखेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान-बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादीहरू संलग्न छन् ।







