चीन, २७ फागुन । इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुन: स्थापना गर्न सहमत भएका छन् ।
चीनको राजधानी बेइजिङमा भएको वार्तामा सम्बन्ध र सुरक्षा सम्झौता पुन: स्थापना गरेपछि दुई महिनाभित्र दूतावास खोल्ने सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वार्तामा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी, साउदी राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल-एबान र चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यी सहभागी थिए । निर्णय कार्यान्वयन गरेपछि दुवै देशका विदेशमन्त्रीहरूले राजदूत आदान-प्रदानको तयारीका लागि भेट गर्नेछन् ।
वाङले दुई देशको सम्झौतालाई चीनले पूर्ण समर्थन गर्ने बताएको समाचारमा जनाइएको छ । दुई देशलेसन् २००१ मा हस्ताक्षर भएको सुरक्षा सहयोग सम्झौता सक्रिय गर्न पनि सहमति जनाएका छन् ।