Logo

इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको क्षति



काठमाण्डौ, १४ फागुन ।  इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चियासहित भौतिक संरचनामा क्षति पुगेको छ ।

उद्योगी शरद सुब्बाले १० वर्षयता उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । सुब्बा नेपालकै सबैभन्दा उत्कृष्ट चिया बनाउने ‘टी मेकर’ का रूपमा चिनिनुहुन्छ ।

केही महिनाअघि काठमाण्डौमा आयोजना भएको ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा नेपालका चिया उत्पादकबीच प्रतिस्पर्धा हुँदा उहाँ ‘सर्वोत्कृष्ट टी मेकर’ घोषित हुनुभएको थियो । उद्योगबाट ३५ भन्दा धेरै प्रकारका चिया तयार गरेर तेस्रो देशमा निर्यात हुँदै आएको थियो ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट झन्डै ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्