Logo

इष्टर्न साहारा कम्पनीको मुनाफा उल्लेख्य वृद्धि, २ अर्ब पूँजी पुर्याइने



झापा, २७ पुष । झापाको बिर्तामोड नगरपालिका–२ मा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ करोड ५५ लाख ३७ हजार ८९८ रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।

आइतबार बिर्तामोडमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार इष्टर्न साहाराको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको हो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ४३ लाख १० हजार ५०७ रुपैयाँ नाफा आर्जन गरेको थियो।

हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब ३७ करोड र चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार आगामी दिनमा चुक्ता पूँजी वृद्धि गर्दै २ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिइएको छ।

कम्पनीमा न्यूनतम २ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म लगानी गर्ने २ हजार ६ सयभन्दा बढी शेयर सदस्य रहेको अध्यक्ष गिरीले जानकारी दिए।

इष्टर्न साहाराले हाल बुढीगण्डकी, माथिल्लो तमोर, इशुवा खोला, सुपर आँखी खोला, बलेफी–ए जलविद्युत आयोजना लगायत ऊर्जा क्षेत्रका विभिन्न परियोजनामा लगानी गरेको छ। साथै एनसी एग्रो टेक इण्डष्ट्रिज, झापा इनर्जी लिमिटेड तथा जनता एग्रो एण्ड फरेष्ट लिमिटेडजस्ता संस्थामा समेत लगानी विस्तार गरेको जनाएको छ।

कम्पनी सचिव कृष्ण रानाभाटका अनुसार आगामी छ महिनाभित्र कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र क्षेत्रका महानायक राजेश हमालले सबै नेपाली एकजुट भई काम गर्न सके देशलाई विकासको बाटोमा अघि बढाउन सकिने बताए। मुलुक चुनौतीपूर्ण अवस्थामा रहे पनि दीर्घकालीन परियोजनामा लगानी गरे भावी पुस्ताले त्यसको प्रतिफल पाउने उनले उल्लेख गरे।

साधारणसभामा सञ्चालक कल्पना विश्वकर्माले सहभागीलाई स्वागत गरेकी थिइन् भने कार्यक्रम एकराज गिरीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्