काठमाडौँ, ३२ जेठ । करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ ।
मंगलवारमात्रै करिब तीन महिनापछि नेप्से परिसूचक दुई हजारमाथि पुगेको थियो, जुन बुधवार पनि कायम रह्यो । पछिल्ला १० कारोबार दिनलाई हेर्ने हो भने सेयर बजार पुँजीकरण दैनिक रुपमा बढिरहेको छ ।
१० दिनअघि २७ खर्ब २४ अर्व ६५ करोड रुपैयाँ रहेको सेयर बजार पुँजीकरण क्रमशः बढ्दै बुधवारसम्म २९ खर्ब ७८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कम्पनीहरूको मर्जर तथा प्राप्ति र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने व्यवस्था गरिएसँगै लगानीकर्ता असन्तुष्ट बनेका थिए ।
लगानीकर्ताका संस्थाहरूको निरन्तर दबावपछि अर्थमन्त्री प्रकाशशरण महतले अन्योल भएका केही विषय स्पष्ट पारेपछि सेयर बजारले उकालो यात्रा तय गरेको हो ।
पछिल्ला दिनको उकालो यात्रालाई विश्लेषकहरूले बजार लयमा फर्कने क्रममा रहेको विश्लेषण गर्न थालेका छन् । लगानीकर्ताहरूको मनोबल उच्च हुँदै जाँदा पछिल्ला दिनमा बजार बढ्न थालेको उनीहरूको बुझाइ छ ।
नेप्से परिसूचकमात्र बढेको छैन, कारोबार रकम पनि बढेको छ । यसरी लगातार बजार तथा कारोवार रकम बढ्दै जाँदा घटिरहेको बजार पुँजीकरण पनि बढिरहेको छ ।
बुधवार सेयर बजार दिनभर हरियाली रह्यो । तर, कारोवारको अन्तिम समयमा बजारले एकाएक ५० अंक गुमाउन पुग्यो र त्यसको केही मिनेटमै पुनः लयमा फर्कियो । यसले बजार लयमा फर्कने प्रयास रहेको बुझिने लगानीकर्ता बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।