काठमाडौँ, ९ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधानलाई मिच्ने गरेको बताएका छन् ।
आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिच्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने काम गरेको आरोप लगाए । उनले सङ्घीयतालाई मिच्नेहरूलाई रोक्नका लागि उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिचिदिने काम भइरहेको छ, कोही पनि जिम्मेवारी देखिँदैन । भेटेसम्म यो शक्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्दिने प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नका निम्ति पनि लोकतन्त्रको सदृढीकरणको विषय महत्त्वपूर्ण छ । उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ । अमेरिकालगायतका देशका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने रु हाम्रोजस्तो विविधताको देशमा सङ्घीयता नभइ हुँदैन । हामीले कसैलाई दोष दिने होइन, सङ्घीयता राम्रोसँग बुझेनौँ र त्यस ढङ्गले काम गरेनौँ भन्ने कुरा सत्य हो ।’







