
काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन् ।
नेपालमा नयाँ संविधान बनेर सङ्घीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै महामन्त्री थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए । उनले भने, यत्रो ठूलो राजनीतिक परिवर्तन गर्यौँ । संविधानले नयाँ संरचना बनायो । स्थानीय सरकार, प्रदेश सरकार बनाएका छौँ । तर यत्रो ठूलो परिवर्तन पछाडि चाहिँ हामी विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुराको सन्दर्भमा मूल विषयमा प्रवेश गर्न चाहेनौँ । उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्छ भनेर मैले भन्दै आएको छु ।
ऐन ल्याइसकेपछि हाम्रो बाटो के हो, हामी उच्च शिक्षामा लगानी कति गर्ने हो? कसले गर्ने हो? कसरी गर्ने हो? विश्वविद्यालय कसरी चलाउने हो? सङ्घको जिम्मेवारी के हो? प्रदेशको जिम्मेवारी के हो? भइरहेको विश्वविद्यालयलाई के गर्ने हो? नयाँ विश्वविद्यालय खोल्ने हो कि होइन? यो सबैको सन्दर्भमा पहिला एउटा प्रबन्ध गरौँ । यो प्रबन्ध गरिसकेपछि त्यसमा जमेर बहस गरौँ । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर काम गर्न तयार छौँ । तर यसको नेतृत्व धेरै हदसम्म त्रिभुवन विश्वविद्यालयकै टिमले लिनुपर्ने हुन्छ ।






