भारत, २६ पुस । भारतको उत्तराखण्डमा रहेको जोशीमठ सहरका घर र सडकहरूमा चिरा पर्न थालेपछि सरकारले ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको छ ।
अरू थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सहरमा रहेको चार हजार पाँच सय घरमध्ये छ सयभन्दा धेरै घरहरू चर्किएकाले बढी जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको मुख्यमन्त्री धामीले बताए ।
सहरलाई नै जोखिमयुक्त क्षेत्र घोषणा गरेर पीडित परिवारलाई सुक्खा रासन र आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय अधिकारीहरूले बताएका छन् ।







