बैतडी, २० साउन । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा बिहीबार राति आएको पहिरोमा परी १४ जना नेपाली र छ जना भारतीय नागरिकसहित २० जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ । शवको शनिबारसम्म सनाखत हुन सकेको छैन । बेपत्ता १४ जना नेपाली कर्णाली प्रदेशका रहेका छन् ।
नेपाली रुद्रप्रयाग जिल्लाको गौरीकुण्डस्थित डाट पुलमा होटल सञ्चालन गरेर बसेका थिए । होटलमाथिबाट आएको पहिरो दुई वटा होटल अलकन्दा नदीमा बग्दा २० जना बेपत्ता भएका छन् । बेपत्ता मध्येमध्ये १४ जना नेपाली र छ जना भारतीय बेपत्ता भएको बताइएको छ ।
पहिरोमा बेपत्ता हुनेमा कर्णाली प्रदेशको हुम्लाको पातारासी गाउँपालिकाका(२ का अमर बोहरासहित परिवारका सात जना सदस्य बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनीता बोहरा, १४ वर्षीया छोरी राधिका बोहरा, पिंकी बोहरा (११) छोरा पृथ्वी बोहरा (८) जटिल बोहरा (६) वकिल बोहरा (३) वर्षीय रहेका छन् ।
त्यसैगरी ४५ वर्षीय सुगाराम बोहरा, बमबहादुर बोहरा (४५) चन्द्र कामी (२६), धर्मराज कामी (५६), नीरबहादुर रावल (५८), उनकी पत्नी सुमिता रावल (५२) र २० वर्षीया छोरी निशा रावल बेपत्ता भएका छन् ।
पहिरोमा परेर भारतीय नागरिक आशु उर्फ दिव्यांश विष्ट (२३) प्रियांशु चमोला (१८) रोहित विष्ट, रणवीर सिंह (२८) विनोद सिंह (२६) र २५ वर्षीय मुलायम सिंह बेपत्ता भएको भारतीय प्रहरीले जनाएको छ । घटना स्थलबाट तीन जनाको शव फेला परे पनि सनाखत हुन सकेको छैन ।
शुक्रबार दिनभर भारी वर्षाका कारण खोज तथा उद्धारको काम केही समय रोकिएकाले शनिबार खोजी कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थल बैतडीको झुलाघाटबाट ३७० मिटर दुरीमा रहेको छ ।







