इस्लामाबाद, २ वैशाख । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ ।
सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) बाट जारी गरिएको विज्ञप्ति अनुसार, पहिलो हमला उत्तरी वजिरिस्तानको दताखेल शहरमा भएको थियो । आतङ्ककारीहरूले गुडिरहेको सैन्य गाडीमा हमला गरेका थिए । आक्रमणमा मारिएका सैनिकको शवलाई सैन्य हेलिकप्टरबाट उत्तरी वजिरिस्तानको प्रशासनिक मुख्यालय मिरामशाहमा लगिएको छ ।
सशस्त्र सेना र विद्रोहीहरू बीचको अर्को आक्रमण उत्तरी वजिरिस्तान जिल्लाको इशाम क्षेत्रमा भएको थियो जहाँ मियाँवाली सिपाही, असमतुल्लाह खान गोलीबारीमा मारिएको स्थानीय मिडियाले सैन्य मिडिया शाखा आईएसपीआरलाई उद्धृत गर्दै जनाएको छ ।
यस वर्षको पहिलो तीन महिनामा ९७ सैनिक र सेना अधिकारीहरू गरी कुल १०५ सेनाका जवानहरूले त्यस्ता आतङ्कवादी हमलाहरूमा ज्यान गुमाएका छन् ।
यसैगरी आक्रमणको सोही अवधिमा, १२८ आतंककारीहरू मारिएका छन् भने २७० पक्राउ परेको इन्टर(सर्भिसेज पब्लिक रिलेसन (आईएसपीआर) को निर्देशनालयले बताएको छ ।