Logo

उत्तर कोरियामा अमेरिकी सैनिक पक्राउ



दक्षिण कोरिया, ३ साउन । दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् ।

दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको उत्तर कोरियाले जनाएको छ ।

अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिइरहेको अवस्थामा ती सैनिक उत्तर कोरिया प्रवेश गरेका जनाइएकोे छ ।

अमेरिकी सेनाका अनुसार ती सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् । बीबीसीका अनुसार ती सैनिक संयुक्त राष्ट्रद्वारा आयोजित दुई देशलाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणमा थिए ।

एक वरिष्ठ अमेरिकी कमान्डरले ती सैनिकसँग अहिले कुनै सम्पर्क नभएको जानकारी दिएका छन् ।

ती सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुई वटा शङ्कास्पद बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्