दक्षिण कोरिया, २ चैत । दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुबीच ऐतिहासिक शिखर बैठकको पूर्वसन्ध्यामा उत्तर कोरियाले शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।
दक्षिण कोरिया र जापानबीच कोसेढुंगा मानिएको १२ वर्षयताकै महत्वपूर्ण बैठकअघि उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।
आज बिहान प्रहार गरिएको अन्तरदेशीय मिसाइल झण्डै १ हजार किलोमिटर दूरी पार गरेर जापानको पश्चिमी समूद्रमा खसेको छ ।
दक्षिण कोरियाका संयुक्त चीफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट यो मिसाइल नेपाली समयअनुसार बिहान पौने ४ बजे प्रहार गरिएको हो । अहिले कोरियाली प्रायद्वीपमा दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास भइरहेको छ ।
उत्तर कोरियाले अभ्यास रोक्न चेतावनी दिँदै आएको थियो । यहीबीचमा दक्षिण कोरिया र जापानबीचको शिखर बैठकअघि मिसाइल प्रहार भएपछि दुवै देशले आफ्नो सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् ।







