तेह्रथुम, २९ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभइ शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताएका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा गृह जिल्ला तेह्रथुम पुगेका उनले पहिचानको नाममा भइरहेका गतिविधि प्रति लक्षित गर्दै विरोध प्रदर्शन, हिंसात्मक गतिविधि र मुठभेडबाट समस्याका निकास ननिक्लने उल्लेख गरेका थिए ।
नेकपा एमाले तेह्रथुमले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा ओलीले सल्लाका रुख ढालेर समस्याका समाधान नहुने भन्दै शान्तिपूर्ण व्यवहार प्रस्तुत गर्नु पर्नेमा जोड दिए । बाटाका ढुंगामुढा व्यवधानले समस्याको समाधान हुँदैन,’ उनले भने, ‘सल्लाका रुख ढालेर र नचाहिने कुरा गरेर समस्याको निकास निक्लँदैन ।’ संकल्प यात्रा कसैको विरोधका लागि नभएर समग्र देश र जनताको लागि रहेको भन्दै उनले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य सबैको हितमा रहेको दाबी गरे । उनले विरोध गर्नेहरूकै हितको लागि संकल्प यात्रा रहेको समेत बताए ।
‘जेलनेल, बलिदानी, दुःखकष्ट सहेको हाम्रो निम्ति होइन,’ उनले भने, ‘सबैका लागि हो र विरोध गर्नेहरु कै लागि पनि हो ।’ उत्तेजना छोडेर शान्तिपूर्ण ढंगले समस्याको निकास तथा समाधान खोजिनु पर्ने उनको भनाइ थियो । जे गरेपनि आन्दोलन होइन, कालो झण्डा देखाउने वा हिंसात्मक रुप, मुठभेडमा लैजानु समस्याको समाधान नहुने भन्दै ओलीले लोकतन्त्रमा धैर्यता र लोकतान्त्रिक विधिबाट समस्याको समाधान निस्कने उल्लेख गरेका थिए ।
फरक प्रसंगमा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत ढंगले हटाइएकोले मुलुक संकटमा रुमल्लिएको बताए । प्रभावकारी र सुशासनका काम गरेकोले जनता आफ्नो पक्षमा आएपछि विरोधीहरू आत्तिएर प्रयोग नगर्नु पर्ने संस्थाहरु प्रयोग गरि सत्ताबाट हटाएको उनको कथन थियो । ‘हामीलाई सरकारबाट बाहिर धकेल्दा हामी मात्र अन्यायमा परेनौं,’ उनले थपे, ‘देश अनि जनता प्रति अन्याय भयो, उकालो लागिरहेको देश फेरि ओरालो लाग्यो ।’







