Logo

उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन



ओखलढुङ्गा, ६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा पुग्ने गरी बनाउन निर्देशन दिएका हुन् ।

दुर्गमको विकास पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले आधारभूत आवश्यकता पूरा नभएकै कारण नागरिक बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था सुधार हुने गरी योजना तर्जुमा गर्न निर्देशन दिए । उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।

“प्रदेशको समृद्धिका लागि दुर्गमको विकास पहिलो प्राथमिकतामा राखिनेछ । यहाँ जिल्लामा योजना तर्जुमा गर्दा बढीभन्दा बढी नागरिकले लाभ लिने गरी उत्पादनसँग जोडिएका योजना बनाएर प्रदेशमा पठाउनुहोला”, उनले भने, “कृषिको व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्नेछ । पूर्वाधार निर्माणका कामलाई पनि उत्पादनसँग जोडौँ ।” देश विकासका लागि आर्थिक विकासको लक्ष्य हासिल गर्ने गरी कर्मचारी संयन्त्रले काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

देशमा राजनीतिक स्थायित्व नभएकाले सरकारहरू अस्थिर भए पनि कर्मचारी संयन्त्रले जिम्मेवारपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । जिल्ला जिल्लामा पुगेर आफैँले आवश्यकता पहिचान गरेकाले आगामी वर्ष प्रदेशको बजेट नागरिकको मागमा केन्द्रित ल्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्