
भोजपुर, १ चैत । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
को१ज २५९३ नम्बरको जिप आज १:३० बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना हुँदा एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताए ।






