उदयपुर, ९ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीमा अवस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना भएको छ ।
आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको हो ।
घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।






