झापा, १८ साउन । पूर्वको उदयपुर, झापा, सिरहामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा सबैभन्दा धेरै एक सय ३४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यो पछिल्लो २४ घण्टायता देशभरकै उच्च वर्षा मापन हो ।
त्यस्तै झापाको अनारमनीमा एक सय २४ दशमलव २, दमकमा एक सय १७ दशमलव २ र चन्द्रगढीमा एक सय ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सिरहाको सिरहा हाइड्रोमा एक सय ३ मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्याङ्कले देखाएको छ । ठूलो पानी परेका क्षेत्र उदयपुरको गाईघाटसहित झापा, सिरहाको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले आवश्यक परेमा स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्न तयारीमा रहेको बताउनुभयो । कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कन्काई नदीको सतह उच्च रहेको र आसपासका क्षेत्रमा सतर्क अवस्थामा रहेको बताउनुभयो । आवश्यक परेमा तत्काल उद्धार, राहत र स्थानान्तरण कार्य गरिने उहाँले बताउनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पनि सुरक्षा निकाय र पालिकासँगको समन्वयमा उच्च जोखिममा रहेका ठाउँको अनुगमन, आवश्यकतानुसार उद्धार तथा राहतको तयारी गरिएको जानकारी दिनुभयो ।
एशियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले आयोजनाले आफ्ना कर्मचारी र उपकरणलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताउनुभएको छ । सुक्खाग्रस्त क्षेत्र मधेशमा केही दिनयताको वर्षाले राहत भएको छ । सरकारले नै विपद् संकटग्रस्त घोषणा गरेको मधेशमा पानी परेपछि विषेशगरी किसानलाई राहत भएको हो । सुझाव दिएका छन् ।