काठमाडौं, ११ कार्तिक । ब्रतालुहरुले उदाँउदोे सूर्यको पूजाआराधना गरी अर्घ दिएसँगै छठ पर्व समापन भएको छ । पर्वको मुख्य दिन हिजो सूर्यदेवको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो ।
मिथिलाञ्चलमा विशेष पर्वको रुपमा मनाईने छठ पछिल्लो समय तराई मधेशका अन्य जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा मनाउन थालिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो ।
उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । केही दशकअघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।
छठ पर्वका लागि राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो । काठमाडौं बाहिर जनकपुर, विरगंज, लहान, राजविराज, मलंगवा, जलेश्वर, सिमरालगायतका शहरमा छठको विशेष रौनक छाएको थियो ।






