Logo

उद्धार, राहत र पुन:स्थापना उच्च प्राथमिकतामा: प्रधानमन्त्री



सङ्खुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुगेका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए ।

तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका लागि मातहतका निकायले काम थालिसकेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने बताए । बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्