काठमाडौँ, २३ चैत । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले भनेजस्तो उद्योगहरूमा १४ घण्टा लोडशेडिङ नभएको बताएका छन् ।
बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले तत्कालीन समयमा भारतबाट बिजुली खरिद गर्न समस्या आएकाले कहीँ कतै बिजुली कटौती भएको बाहेक उद्योगहरूमा लोडशेडिङ नगरिएको दाबी गरेका छन् ।
निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडशेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए । उनले भने, ‘अहिले उद्योगहरूमा प्राधिकरणले लोडशेडिङ गर्यो भन्ने विषयहरू पनि आयो । यो तत्कालीन अवस्थाको समस्या थियो तर लामो समयको समस्या जस्तो गरेर कुरा बाहिर आयो । अलि राजनीति कुरा भयो । बेलुकाको समयमा कुनै उद्योगमा एकरदुई घण्टा ट्रान्समिसन लाइनको कारणले लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरेको हुन्छ, त्योबाहेक कहीँ पनि लोडशेडिङ भएको छैन ।’
निर्देशक घिसिङले रुस र युक्रेनबीचको युद्धको कारण बिजुली आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरूले बुझ्नुपर्ने बताए ।