काठमाडौँ, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् ।
नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।
मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भने, “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।”






