काठमाडौँ, २५ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालू आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।
शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालू आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको बताए ।
उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए । उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए । उनले निर्यात व्यवसायीहरूले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको पनि बताएका छन् ।
उनले नेपालका दुवै छिमेकी देशहरू ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको जिकिर गरेका थिए ।
उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन झनै सहज हुने प्रतिवद्धता जनाएका छन् ।







