काठमाडौं, १६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि औद्योगिक क्षेत्रमा वर्षौंदेखि उठ्न नसकेको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
मन्त्री यादवले लामो समयदेखि सरकारी सम्पत्तिको भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.स. २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा तिर्न बाँकी राख्दै आएका थिए। केही दिनअगाडि मात्रै करिब ६३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना नै प्रकाशित गरिएपछि अधिकांशले धमाधम आफ्नो बक्यौता चुक्ता गरेका हुन्।
मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन नै काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ। बक्यौता नतिर्ने झन्डै दुई सयभन्दा बढी उद्योगको सुरुमै लाइन काटिएको थियो, जसमध्ये अधिकांशले धमाधम भाडा तिरेपछि पुनः लाइन जोडिएको छ।
हालसम्म पनि भाडा तिर्न अटेरी गरिरहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। मन्त्री यादवले ती उद्योगहरूको बक्यौता पूर्ण रूपमा चुक्ता नहुँदासम्म कुनै पनि हालतमा लाइन नजोड्न स्पष्ट निर्देशन दिइएको लिमिटेडले जनाएको छ।
लामो समयदेखि ठूलो रकम बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ।
हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको छ। भाडा तिर्न आनाकानी गर्ने प्रवृत्ति र विभिन्न बाह्य दबाबका बाबजुद मन्त्री यादवको अडान र स्पष्ट निर्देशनका कारण छोटो समयमै ऐतिहासिक रूपमा यो बक्यौता उठाउन सकिएको लिमिटेडका महाप्रबन्धक ओलीले बताए।






