काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि आज पुन: मतदान हुँदै छ ।
बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन् ।
आज दिउँसो २ देखि बेलुका ५ बजेसम्म पुन: मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
दोस्रो चरणमा वरिष्ठ उपाध्यक्षका उमेदवारद्वय अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा तीन उमेदवारमध्ये सबैभन्दा कम मतभार पाएर रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन् ।
पुनः मतदान काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमै हुनेछ । निर्वाचनबाट तीन वर्षका लागि नेतृत्व चयन हुनेछ । वरिष्ठ उपाध्यक्षबाहेक अरू पदको नतिजा सार्वजनिक भइसकेको छ ।