Logo

उन्माद होइन, सुसंस्कृत ढंगले अघि बढ्छ रास्वपा : रवि लामिछाने



चितवन, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी उन्मादका साथ नभई सुसंस्कृत र संयमित ढंगले अघि बढ्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट विजयी भएपछि शनिबार (फागुन २३) सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले दिएको जिम्मेवारीलाई सम्हालेर अघि बढ्ने बताए।

“जनताले हामीलाई जिम्मेवारी दिएका छन्। हामी सम्हालिएर सबैलाई समेटेर अघि बढ्नेछौँ,” उनले भने।

लामिछानेले आफ्ना नेता–कार्यकर्तालाई तत्काल अन्य दलप्रति गालीगलौज नगर्न निर्देशन समेत दिएका छन्। जनताको अपेक्षा पूरा गर्न नसकेमा अहिले जस्तै मतदाताले भविष्यमा पराजित गराउन सक्ने जोखिम रहेको उनले बताए।

“जनताको चित्त नबुझाएको खण्डमा अहिले जुन हिसाबले जिताउनुभयो, त्यही हिसाबले पराजित गराउने जोखिम पनि हुन्छ। त्यसैले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्ने ढंगले हामी अघि बढ्छौँ,” उनले भने।

उनले रास्वपाले नागरिकसँग गरेको ‘करारपत्र’ अनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

चितवन–२ बाट लामिछानेले यसपटक जितको ‘ह्याट्रिक’ गरेका छन्। उनले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्