Logo

काठमाडौँ उपत्यकामा झाडापखाला फैलिने खतरा



काठमाडौँ, ३१ जेठ । काठमाडौँ उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चार जनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ ।

गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाडौँ मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।

सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाइ छ । दैनिक पेटको समस्या लिएर आउने बिरामीमध्ये ४० प्रतिशतमा दूषित खाना तथा पानीका कारण हुने कीटाणुको संक्रमण भएको पाइएको सोही अस्पतालका चिकित्सक डा.अफतार जावेदले बताए ।

पेटको समस्या लिएर आएकामध्ये केहीलाई लाक्षणिक उपचार गरी पठाउने गरेको र कीटाणु भेटिएकाहरूलाई एन्टिबायोटिक नै दिएर उपचार गर्ने गरेको डा.जावेदको भनाइ छ । सो अस्पतालमा उपचारका लागि पुग्नेहरू धेरैजसो दूषित पानी र खानाको कारण बिरामी भएको पाइएको उनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्