वीरेन्द्रनगर, ८ वैशाख । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् ।
आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, “यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।”
उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताए । “अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौँ”, खड्काले भने । यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।







