काठमाडौँ, १५ वैशाख । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण आज हुने भएको छ ।
चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा-२ बाट निर्वाचित उपेन्द्र यादव तथा तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११:३० बजे शपथ ग्रहण हुने तयारी गरिएको छ ।
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
त्यस्तै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएको र चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुन: सांसद चुनिएका हुन् ।







