Logo

उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा



काठमाडौँ, १९ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुगेका छन् ।

भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिएका उपप्रधानमन्त्री खड्का आज जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुगी रक्षामन्त्री समेत रहेका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुन:निर्माणमा लगाउने बताए ।

“सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ”, उनले भने, “यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।”

उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण गरिने बताए । केही राहत सामग्री आइसकेको र थप सामग्री आउने क्रममा रहेको जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्