
काठमाडौँ, १५ माघ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की-चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गरे । चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।







