काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।
सोमवार एक प्रेस विज्ञप्ति निकालेर यादवले प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भन्दै आफूले फिर्ता लिएको घोषणा गरेकी हुन् । उनले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने पनि बताएकी छन् ।
जसपाबाट रामसहाय यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार हुन् । त्यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार रहेकी छन् ।
प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते बेलुकी आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुँदैछ ।







