Logo

उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौँ, २ चैत । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ”, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भन्नि, “मतपत्र पनि केन्द्रमा आइसकेको छ ।”

सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्ने छन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार रहेका छन् । यदापि चार जनाले उम्मेदवारी दर्ता गरे पनि जसपाकी प्रमिला कुमारीले भने रामसहायप्रसाद यादवलाई समर्थन गर्ने घोषणा गरी सकेकी छन् ।

सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् । “मतदानपश्चात् तत्काल मतगणना हुन्छ”, उनले भन्नि, “साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको छौँ ।”

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्य र प्रदेशसभाका सदस्य मतदाताका रुपमा रहेको छन् । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्