Logo

उपलब्धि रक्षाका लागि चुनावपछि सडकमा जान्छौँ: प्रचण्ड



काठमाडौँ, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मङ्सिर ४ गतेको निर्वाचपछि सडकमा जाने उद्घोष गरेका छन् ।

काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, “चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।”

संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा गएर बयान दिँदै आफू सडकको घेराबन्दीमा परेँ भनेर भनेको उल्लेख गर्दै अध्यक्ष दाहालले थपे, त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो भन्ने मलाई लागेको छ ।

उनले यदि लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो भने । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले पनि आफू सडकमा जान लागेको उनले बताए । उनले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्