Logo

उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै



काठमाडौँ, १५ माघ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछिन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनेछिन् ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर उनको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ ।

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्दैछिन् । साथै भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्