काठमाडौँ, ३० असार । पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढेको छ ।
प्रतिनिधि सभा सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबार चुनावी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएपछि सचिवालयले तालिका सार्वजनिक गरेको हो । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
कार्यतालिकाअनुसार शुक्रबार दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो ।







