काठमाडौँ, ९ असोज । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाइरहेका अभियन्ता ‘ई’ लाई काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले भेटेकी छन् ।
उपमेयर डङ्गोलले राष्ट्रिय सभागृहको गेटमा अभियन्ता ‘ई’ लाई भेटेकी हुन् ।
भेटमा उनले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताएको ‘ई’ ले जानकारी दिएका हुन् ।
‘ई’ ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्: ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो । मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’ अभियन्ता ‘ई’ एक हप्तादेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । काठमाडौँ महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ ।
यदाकदा भेटिइ हाल्यो भने नगर प्रहरीले व्यापारीको सामान खोस्ने, ठेला गाडा जफत गर्ने गरेको छ । यतिले नपुगेर हातपातसमेत हुने गरेको छ । ‘ई’ को विरोध यसैमा हो ।आश गरेको नेतृत्वले अहिले निराश पारिरहेको ‘ई’ को गुनासो छ ।






