Logo

‘उमेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुन्छ’



काठमाडौँ, २८ कात्तिक । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्न चेतावनी दिएको छ ।

आयोगले स्थानीय प्रशासन चुनावमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाइएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताएका हुन् ।

उनले कुनै पनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमहरुलाई आग्रह गरेका थिए ।

उनले चुनावलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताए । पालिकामा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले चुनावको समयमा पक्षरविपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताएका हुन् ।

आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले पालिकामा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढङ्गले निगरानी राखेको पनि बताए ।

भण्डारीले भने, ‘कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ । उहाँहरुको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ । त्यो प्रकृतिको कसैलाई समर्थन गर्नेगरी आदेश, निर्देशन जारी गर्नुहुन्छ भन्ने आयोगले विश्वास नै गर्दैन । अहिलेसम्म हामीले पाएको प्रगति विवरण अनुसार कुनै पनि ठाउँबाट त्यस्ता चुनौती आएका छैनन् । अब आउँदा पनि आउँदैनन् । चुनौती आउनु पनि हुँदैन ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिने पनि बताएको छ । भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरुलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको बताए । अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरुले आचारसंहिता उल्लङ्घनको घटना बढाउने सक्ने आकलन गरी आयोगले त्यही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्