काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर देशका समस्याहरू सामूहिकरूपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले देशका हरेक क्षेत्र अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताए ।
उनले उमेर पुगेको भोलिपल्ट युवा राहदानी (पासपोर्ट) बनाएर विदेश जानु परिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष लिङ्देनले किसानलाई समयमै मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए । कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ । अर्थतन्त्रको अवस्था भनिरहनुपर्दैन । हामी कोही अनभिज्ञ छैनौँ । बेरोजगारी कुन ढङ्गले बढेर भएको छ । उमेर पुगेको भोलिपल्ट हाम्रा युवा राहदानी बनाउने र आमाको काख र बाउको काख, देश छोडेर परिवार पाल्न हिँड्नुपर्ने नियति बनेको छ । कृषिप्रधान देश भन्छौँ, किसानले बाली लगाउने बेलामा मल पाउन सकेका छैनन् । मल पाउनु भाग्यको कुराजस्तो भएको छ । विकास निर्माण कस्तो छ सबैलाई थाहा छ । अहिले भएको पनि सुस्त छ । हामी कसैले कसैलाई निषेध गरेर ममात्रै अघि बढ्छु भन्ने अवस्था छैन ।’







